नेपाल फोटोग्राफर महासंघको स्थापना–कथा : एक ऐतिहासिक दस्तावेज
– बिक्रम न्यौपाने (प्रत्यक्षदर्शी/अभियन्ता)
नेपालमा फोटोग्राफी केवल पेशा होइन—समाज, संस्कृति र इतिहासलाई जोड्ने दृष्टि हो। त्यही दृष्टिलाई साझा संस्थागत स्वर दिनु पर्दछ भन्ने बोधबाट नेपाल फोटोग्राफर महासंघ को कथा सुरु हुन्छ। यो कथा एक दिनको निर्णय होइन; असंख्य भेटघाट, मतभेद, सहमति, प्रतीक्षा र धैर्यले बुनेको लामो यात्रा हो।
१) बीउ रोपिएको क्षण (वि.सं. २०७२–२०७३)
२०७२ सालमा म, बिक्रम न्यौपाने, काठमाडौँ फोटोग्राफर संघ को कार्यसमितिमा प्रवेश गरेँ। त्यही वर्ष, विवाह फोटो प्रतियोगितालाई औपचारिक “Wedding Photo Award” मा रूपान्तरण गर्ने साहसी कदम चालियो। नामकरण र अवधारणामा समितिबाहिरका पात्रहरूको समेत अविस्मरणीय योगदान रह्यो—विशेषतः च्याङ्वा लामा (फ्रेम व्यवसायी) को।
समितिमा तत्कालीन अध्यक्ष भवदेव थापा, संयोजक बालकृष्ण श्रेष्ठ, म स्वयं, सञ्जय मुडवरी, सुरज काफ्ले र धर्मराज के.सी. सक्रिय थियौँ। बहुविधा (वेडिङ्सँगै अन्य फोटोग्राफिक विधा) समेट्ने प्रस्तावमा विस्तृत छलफल भयो, तर समयका बाध्यताले त्यो वर्ष सम्भव भएन।
त्यहीबेला Canon बाट Title Sponsorship प्राप्त भयो—सर्त स्पष्ट थियो: अवार्डलाई देशव्यापी बनाउने। प्रचार–प्रसारको दायित्व मलाई दिइयो। म काठमाडौं, भक्तपुर, ललितपुरमा अविरल दौडिरहेँ; समितिका साथीहरूको हातेमालो बलियो थियो।
लुम्बिनीका फोटोग्राफर मनीष पन्थ र कमला तिवारीसँगको सम्बद्धतामार्फत लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको भिडियो–अपिल पनि प्राप्त भयो—Canon KPA Award 2016 मा सहभागी हुन देशभर अपिल गर्दै। यो नै २०७३ सालतिर उपाध्यायज्यूसँग मेरो औपचारिक परिचयको आरम्भ भयो।
राष्ट्रिय सभागृहमा अवार्ड सफलतापूर्वक सम्पन्न भएसँगै वसुन्धरास्थित मेगा पार्टी प्यालेसमा उपत्यकाबाहिरका प्रतिनिधिहरूसँग अनौपचारिक ‘चिया–पान’ भयो। त्यही चिया–गफमै पहिलोपल्ट मुखरित भयो—
“सबै संघ–संस्थालाई एउटै छातामुनि ल्याउने महासंघ चाहिन्छ।”
त्यो वाक्य, त्यो साँझ र त्यो भावना—यहीँबाट नेपाल फोटोग्राफर महासंघ को बीउ रोपियो।
२) मतभेद, स्वभाव र संस्थालाई अगाडि राखेको निर्णय (२०७३–२०७४)
विशेष अधिवेशन नजिकिँदै गर्दा मेराे सिधा, तीखा र छिटो प्रतिक्रिया दिने बानीले मन नपर्नेहरूको दायरा बढ्दै गएको आभास थियो। साथी धर्मराजको भावनात्मक आग्रह एकातिर, अध्यक्षज्यूको “उनी आउने भए म बस्दिन” भन्ने सर्त अर्कातिर। संस्थाको स्थायित्वलाई अगाडि राख्दै मैले निर्णय गरें—यो कार्यकाल म बाहिर बसेँ।
यो दोष कसैलाई होइन, समय र आफ्नै स्वभावलाई दिन चाहन्छु—त्यो समयमा तिक्तता पनि त्यहीँ जन्मिएको थियो।
यसैबीच २०७४ मा लुम्बिनीका मिर्गौलापीडित फोटोग्राफर लिखिराम चौधरीलाई सहयोगका लागि हाम्रो टोली जाँदै थियो। त्यही क्रममा “लुम्बिनीमा महासंघ गठन हुँदैछ” भन्ने खबर आयो। समितिका धेरै सदस्यलाई औपचारिक जानकारी थिएन; माइनुट लेखिएको विषय भने लिखिराम चौधरीलाई सहयोग मात्र थियाे। मैले संस्थापक/पूर्वअध्यक्षलाई यथास्थिति जानकारी गराएँ।
मेरो अडान स्पष्ट थियो—महासंघ खराब कल्पना होइन, तर प्रक्रिया आवश्यक: विशेष अधिवेशन/बहुमतमार्फत आधिकारिक निर्णय, त्यसपछि मात्र अगाडि। तत्कालका धेरै पदाधिकारी पनि सहमत थिए। तर “पदको वाचा नै मान्य” हुने समय–परिस्थितिले केही प्रक्रियागत गल्ती जन्मायो।
३) प्रतिनिधित्व, विधान र पहिलो कोष (पोखरा बैठक)
काठमाडौँ फोटो संघको विशेष साधारण सभाले अन्ततः टुंगो लगायो—भवदेव थापा र म (बिक्रम न्यौपाने) महासंघ प्रक्रियाका लागि प्रतिनिधि हुने। थप दुई जनाको खाँचो थियो।
मेरो पहलमा राजकुमार भण्डारी र कालिका रिमाललाई मनाइयो—राजकुमार सर पूर्व समिति सदस्य, र रिमाल सर २०६३ सालदेखि महासंघ अभियानमा लागिसक्नुभएका अनुभवी।
पोखरा बैठकमा विधानदेखि आर्थिक व्यवस्थासम्म विस्तृत छलफल भयो। “महासंघ भावना मात्रै होइन; समय, पैसा, विवेक र एकताको योगफल हो”—सबैलाई बोध भयो।
मैले उठेर भनेँ—“पहिले कोष बनाऔँ।”
मैले व्यक्तिगत रूपमा पहिलो चन्दा दिएँ। एकै घण्टामा साथिहरूले हातेमालो गरे—रु. १,३१,००० महासंघ कोषमा संकलन भयो।
त्यही अवसरमा ‘उहिलेको पोखरा’ देखाउने फोटोग्राफर समितिलाई रु. ५,००० दान पनि गरियो। बीउ अंकुराउँदै थियो।
४) महामारी, मन्दी र ‘ग्रुप’ भित्रको महासंघ (२०७८–२०७९)
फेरि समय बदलियो। जिल्लाजिल्लामा नयाँ नेतृत्व आयो, तर कोभिड–१९ ले पेशा, अर्थतन्त्र र संरचनालाई नै हल्लाइदियो। अनेक स्टुडियो बन्द, धेरैलाई पेशा छाड्न बाध्य बनाउने मन्दी।
महासंघको चर्चा समूहभित्र शुभकामना/बधाई मा सीमित—कानुनी/दर्ता भने अड्केकै।
२०–२२ जना जुझारु फोटोकर्मीहरूका काँधमा प्रश्नहरू: “महासंघ कहिले?” तर परिस्थितिले साथ दिइरहेको थिएन। संस्था अल्मल मै थियो।
५) २०८० : प्रक्रियाको फेरि थालनी—र सही ढाँचाबारे अडान
२०८० को एक दिन महेन्द्र प्रसाद उपाध्यायज्यूको फोन आयो—
“अब महासंघ छिट्टै बन्छ। तपाईँको नागरिकता, PAN, दर्ता पठाइदिनुहोस्।”
मैले पठाएँ, अनि सोधेँ—प्रक्रिया कता, कसरी?
“वकिलसँग कुरा भयो, ११ जनाले कम्पनीमार्फत दर्ता गर्न मिल्छ” भन्ने उत्तर आयो।
मैले विमति राखेँ—
“एनजिव/गैरनाफामुलक कम्पनीअन्तर्गत दर्ता संघ/महासंघ को प्रकृतिसँग मेल खाँदैन।
महासंघ भनेको CDO (प्रशासन कार्यालय) मार्फत दर्ता हुनुपर्छ—यही सही ढाँचा हो।”
आफ्नो बोली/दलील बुझिएपछि प्रक्रिया स्थगित भयो।
त्यसबीच महासंघमा आबद्ध हुन इच्छुक जिल्ला संघहरू बढ्दै गएका थिए—उपाध्यायज्यूको निरन्तर पहल र जवाफदेहिताबाट गति पनि देखिन्थ्यो। कानुनी दर्ताका लागि जिल्लाहरूबाट प्रतिनिधि, नागरिकता, PAN, व्यवसाय दर्ता मागिँदै गयो।
काठमाडौँतिर तत्कालीन प्रतिनिधि म (बिक्रम न्यौपाने) र कालिका रिमाल मात्र थियौँ। भवदेव थापाज्यु विदेश गइसक्नु भएकाेले पनि प्रतिनिधकाे संख्या पुगेकाे थिएन त्यसका साथै संध भित्र पुरानै बहष “किन महासंघ? कसरी? कुन कानुनी मार्ग ?”—पुराना मतभेद अझै बाँकी थिए। त्यसबीच, तत्कालीन अध्यक्ष दिगम्बर राजवंशीज्यूले संयमित र प्रोसेस–ड्रिभन नेतृत्व देखाउँदै नयाँ प्रतिनिधि चयनका लागि बैठक बोलाउनुभयो।
समितिभित्र मत–मतान्तर आयो—“अधिवेशन चाहिन्छ”, “प्रक्रिया मिलेको छैन” जस्ता तर्कहरू। मैले स्मरण गराएँ—“महासंघमा जाने ‘निर्णय’ पहिलेकाे विशेष साधारण सभाबाट भइसकेको हो; अहिले आवश्यक रिप्लेसमेन्ट/नामावली अद्यावधिक मात्र हो।” अन्ततः सहमति जुट्यो।
प्रश्न आयो—अब को–को जाने?
चासो न्यून रहेकाले मैले र रिमाल सरले अध्यक्ष दिगम्बर राजवंशी र सचिव हरि प्रसाद धिमिरेको नाम सिफारिस गर्यौँ। सचिवज्यू आरम्भमा संकोचमा भए पनि, संस्थागत प्रक्रियाका लागि आवश्यक ठहरिएर साथ दिनुभयो।
यसैक्रममा, धेरै जिल्लाहरूले पनि आफ्ना आन्तरिक मतभेद छिचोल्दै माइनुट पारित, विधान अनुमोदनकाे खाका पछि —“पहिलो अधिवेशनमा आवश्यक संशोधन गर्ने” सहमतिको आधारमा दर्ता प्रक्रियालाई प्राथमिकता दिए। हामीले पनि भविष्यका फोटोग्राफरहरूको भविष्यलाई अगाडि राखेर कमी–कमजोरी टेक्निकली नोट गर्दै, दर्ता प्रक्रियालाई गति दियौँ।
यता काठमाडौँ CDO मा दर्ता प्रकिया अघि बढी रहँदा—उता मलाई नबताई काठमाडौँ फोटोग्राफर संघभित्र “महासंघमा नजाने” भन्ने बैठक बसेको खबर आयो।
म आक्रोशित भएँ—र विशेष साधारण सभाको पूर्वनिर्णयलाई अतिक्रमण गर्ने/छेक्ने कुनै निजी निर्णय मान्य नहुने कुरा स्पष्ट गर्दै, आफ्नो नाम दर्ताबाट फिर्ता नलिने र महासंधकाे दर्तामा उभिए
त्यसमा दिगम्बर राजवंशी र कालिका रिमालज्यूको पनि सहमति रह्यो। अन्ततः एक जना प्रतिनिधिको विमतिमात्र रहेको अवस्थामा दर्ता सम्पन्न भयो मिति २०८१ असार ०५ गते जिल्ला प्रशासन कार्यलय काठमाण्डाैकाे दर्ता नं २९४ मा नेपाल फाेटाेग्राफर महासधं दर्ता भएर अाधिकारिक रूपमा फाेटाेग्राफरहरूकाे भविष्यकाे ढाेका खुल्याे । दर्ता हुदाकाे बखत ३९ जना केन्द्रिय सदस्यहरू रहनुभएकाे छ ।
नोट : आज काठमाडौँ फोटोग्राफर संघ पनि महासंघमा समाहित भइसकेको छ।
पछिल्ला विशेष साधारण सभा २०८१ भाद्रबाट पहिलेका त्रुटिहरू सच्याई–रिकर्डमार्फत पारित गरिएका छन्।
हाल मलाई विधान संशोधन समितिमा समावेश गरी कार्यभार दिइएको छ, र कैलाली बैठकमा संशोधित विधान प्रस्तुत भइसकेको छ।
पहिलो अधिवेशन काठमाडौँमा (यसै पौष 2082 मा) आयोजना गर्ने निर्णय भएको छ—अब महासंघ बनेको छ र कामहरू क्रमशः अगाडि बढिरहेका छन्।
६) अन्तिम निचोड : संस्थाभन्दा माथि प्रक्रियाको आस्था
यो कथा भावनाको जित–हार मात्र होइन; प्रक्रिया, विधि र कानुनी संरचनामा आस्था राख्ने निरन्तर अभ्यास हो।
अवधिहरूमा रूखोपन, तिक्तता, मतभेद र आक्रोश पक्कै थिए; तर त्यसले संस्थालाई होइन, प्रक्रियालाई सुधार्न सिकायो।
आज हामीसँग छ—दर्ताबद्ध महासंघ, संशोधित विधान, अधिवेशनको मिति र साझा भविष्यको रोडम्याप।
महासंघ किन?
किनकि फोटोग्राफी केवल व्यक्तिगत रोजगारी होइन—सामूहिक अधिकार, प्रतिष्ठा, सीप–उन्नति, सेवा–सुरक्षण र नीति–सम्बन्धी आवाज हो।
यो आवाज मजबुत बनाउँछ—जब सबै जिल्लाले एउटै विधि, एउटै विश्वास र एउटै मञ्च साझा गर्छन्।
समयरेखा (संक्षेप)
- २०७२ — KPA कार्यसमिति, Wedding Photo Award को रूपान्तरण, Canon Title Sponsorship।
- २०७३ — राष्ट्रिय सभागृहमा अवार्ड; वसुन्धराको चिया–गफमा “महासंघ” को बीउ रोपियो।
- २०७४ — लुम्बिनी सहयोग कार्यक्रमबीच प्रक्रियागत विमति; महासंघ–निर्णयमा विधि/अधिवेशनको अडान।
- पोखरा बैठक — विधान–आर्थिक खाका, रु. १,३१,००० को कोष संकलन; ‘उहिलेको पोखरा’ समूहलाई रु. ५,००० दान।
- २०७८–२०७९ — महामारी, मन्दी; दर्ता प्रक्रियामा ठहराव, समूह–सीमित औपचारिकता।
- २०८० — प्रक्रियाको पुनरारम्भ; CDO–मार्गको कानुनी अडान; प्रतिनिधि अद्यावधिक; दर्ता सम्पन्न।
- २०८२ — कैलालि बैठक सदस्यता वितरण , प्रतिनिधि थप
- २०८२ (योजना) — काठमाडौँमा पहिलो अधिवेशन, संशोधित विधान कार्यान्वयन, कार्ययोजना विस्तार।
अन्तिम शब्द
यो लेख सत्य घटनामा आधारित प्रत्यक्षदर्शीको दृष्टान्त हो। उद्देश्य—व्यक्तिगत श्रेय होइन; संस्थागत स्मृति सुरक्षित गर्नु हो।
त्रुटि–अवरोधबाट सिक्दै, असहमति–बहसलाई ऊर्जा बनाउँदै, हामीले महासंघलाई नामबाट नियतिमा, नियतिबाट नीतिमा पुर्याउन थालेका छौँ।
अब यात्राको अर्को अध्याय—अधिवेशन, सदस्य–क्षमता, सेवा–संरक्षण र नीति–अधिकारतर्फ—हाम्रा क्यामेरा जस्तै स्पष्ट फोकसमा अघि बढ्नेछ।
— बिक्रम न्यौपाने
प्रत्यक्षदर्शी/अभियन्ता, काठमाडौँ
(विधान संशोधन समिति सदस्य, नेपाल फोटोग्राफर महासंघ)
