नेपाली फोटोग्राफी र फोटो व्यवसाय: इतिहासको जग, प्रविधिको रूपान्तरण र भविष्यको दिशा
— फाेटाेग्राफर बिक्रम न्याैपानेकाे व्यवसायीक दृष्टिकोण र अनुसन्धान
नमस्कार। आज म नेपाली फोटोग्राफी क्षेत्रको इतिहास, यसको प्रविधिगत रूपान्तरण र वर्तमान समयमा हाम्रा फोटो स्टुडियो व्यवसायी तथा फोटोग्राफरहरूले भोगिरहेका गम्भीर चुनौतीका विषयमा केही विचार र अनुभवहरू साझा गर्दैछु। यो कुनै व्यापारिक विज्ञापन होइन, बरु नेपालका विभिन्न जिल्लाहरूमा गरिएको वस्तुगत निरीक्षण, दीर्घकालीन अनुभव र अनुसन्धानमा आधारित एउटा निष्कर्ष हो। यदि यी विषयहरूलाई सही ढंगले आत्मसात् गर्न सकियो भने हाम्रो फोटोग्राफी व्यवसायलाई नयाँ उचाइमा पुर्याउन धेरै समय लाग्ने छैन।
अतीतका पानाहरू: जहाँबाट यात्रा सुरु भयो
वि.सं. २०४७ सालतिरको कुरा हो। म करिब १२ वर्षको उमेरमा छँदा फोटोग्राफीका सामग्री खरिद गर्न हनुमानढोकाको तलेजु मन्दिर नजिकै एस.के. तीर्थराजको एक तल्ले पसलमा जाने गर्दथें। पसलको तल्लो तल्लामा कमिक्स पढ्ने ठाउँ थियो। म 'नागराज' कमिक्स पढेर आनन्द लिन्थें र माथि मामाको पसलका लागि इल्फोर्ड (Ilford) पेपर, १-२० को रिल तथा फोटो धुने केमिकल (हाइपो र डेभलपर) खरिद गर्थें।त्यो बेला न कुनै पत्रिकामा फोटोग्राफीका विज्ञापन हुन्थे, न त 'डिजिटल मार्केटिङ' भन्ने शब्दकै जन्म भएको थियो। नेपाली फोटोग्राफरहरूले फोटोग्राफी सिक्न कि त भारतीय पत्रपत्रिकामा प्रकाशित हुने हिन्दी सिनेमाका तस्विर र फोटोसम्बन्धी लेखहरू खोज्नुपर्थ्यो, कि त विदेशमै धाउनुपर्ने बाध्यता थियो।पछि नेपालमै विशेष गरी अनामनगरमा रहेको फोटोग्राफिक इन्स्टिच्युटमा किशोर श्रेष्ठज्यु तथा वरिष्ठ छायांकार मञ्जुकुमार श्रेष्ठज्युहरूले कक्षा सञ्चालन गरेर नयाँ पुस्तालाई फोटोग्राफीमा प्रवेश गराउनुभयो। मेरा गुरु गौतम गोपालीज्युले उहाँहरूबाटै फोटोग्राफी सिक्नुभएको थियो भने मैले गुरुका मित्र बासु थपलियाज्यु लगाएत धेरै अनुभवी पुराना फाेटाेग्राफरबाट २०४८ सालमा धेरै कुरा सिक्ने अवसर पाएँ। यो विगतको इतिहासले आउने नयाँ पुस्तालाई आफ्नो जग बुझ्न पक्कै मद्दत गर्नेछ।
प्रविधिको छलाङ: एनालगदेखि एआई (AI) को युगसम्म
विश्वमा भइरहेको औद्योगिक र प्रविधिगत विकाससँगै फोटोग्राफी क्षेत्रमा ठूलो रूपान्तरण आएको छ।
-
एनालग (रिल) युग
-
डिजिटल युग
-
डिजिटल मार्केटिङ र सामाजिक सञ्जालको युग
-
एआई (Artificial Intelligence) को आधुनिक युग
फोटोग्राफीले यति धेरै फड्को मारिसक्दा धेरै फोटोग्राफरहरूले आफूलाई नयाँ प्रविधिसँग ढाल्दै अगाडि बढाए। तर, यो रूपान्तरणको प्रक्रियामा एउटा ठूलो खाडल सिर्जना भएको छ।
वर्तमान चुनौती: पुराना व्यवसायी, अस्वस्थ प्रतिस्पर्धा र ओझेल पर्दो उद्योग
हामी फोटोग्राफरहरूलाई कठिन समयमा पनि जोगाएर राख्ने पुराना, साना तथा मझौला व्यापारी र उद्योगीहरू आज ओझेलमा परिरहेका छन्। यसका मुख्य कारणहरू हुन्:
१. परम्परागत शैलीमै सीमित हुनु: हाम्रा धेरै अनुभवी र पुराना व्यवसायीहरू अझै पनि 'माउथ पब्लिसिटी' र परम्परागत भौतिक व्यापारमै आधारित हुनुहुन्छ। पुराना ग्राहकहरू उहाँहरूसँग पक्कै हुनुहुन्छ, तर प्रविधिसँगै जन्मिएका नयाँ, ऊर्जाशील र डिजिटल पुस्ताका ग्राहकको नजरमा उहाँहरू पर्न सक्नुभएको छैन। २. अस्वस्थ प्रतिस्पर्धा र कालो बजारी: वर्तमान समयमा केही गैर-व्यवसायिक तत्त्वहरूले सामाजिक सञ्जाल र अनलाइन माध्यमहरूमा एकाधिकार जमाउँदै गुणस्तरहीन काम र अस्वस्थ मूल्य प्रतिस्पर्धा फैलाएका छन्। यसले गर्दा वास्तविक प्रविधि भित्राउने र गुणस्तरीय सेवा दिने व्यवसायीहरू विस्थापित हुने जोखिम बढेको छ। ३. नयाँ पुस्ता र पुराना व्यापारीबीचको दूरी: आधुनिक प्रविधि प्रयोग गर्ने नयाँ फोटोग्राफरहरू र फोटोग्राफीका सामान तथा मेसिनरी आयात गर्ने पुराना व्यापारीहरूबीच सही पहिचान र समन्वय हुन सकेको छैन।
अबको मार्गचित्र: सहकार्य र रूपान्तरण
फोटोग्राफी क्षेत्रलाई बचाउन र अगाडि बढाउन अब हामीले दुईतर्फी रूपान्तरणको बाटो रोज्नैपर्छ:
-
व्यापारी र उद्योगीहरूको डिजिटल रूपान्तरण: हाम्रा पुराना र मझौला व्यवसायीहरूले केवल भौतिक पसलमा सीमित नरहेर आफूलाई डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र आधुनिक ब्रान्डिङमा लैजानुपर्छ। नयाँ पुस्ताको दायित्व: फोटोग्राफरहरूले प्रविधि मात्र अपनाउने होइन, हामीलाई सहज रूपमा आधुनिक प्रविधि र मेसिनरी भित्राएर सहयोग गर्ने ती पुराना तथा मझौला लगानीकर्ताहरूलाई उकास्न सहकार्य गर्नुपर्छ। स्वस्थ व्यवसायिक वातावरण: अनलाइन तथा सामाजिक सञ्जालमा हुने अस्वस्थ प्रतिस्पर्धालाई चिर्न गुणस्तर, व्यवसायिक नैतिकता र सही मूल्य निर्धारणमा सबै एकजुट हुनुपर्छ।फोटोग्राफी केवल क्यामेराको क्लिक मात्र होइन; यो इतिहास, कला, प्रविधि र व्यापारको संगम हो। इतिहासको जगलाई सम्मान गर्दै, वर्तमानका चुनौतीहरूसँग जुधेर र प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्ने हो भने नेपाली फोटोग्राफी उद्योगले विश्वस्तरीय पहिचान बनाउन धेरै समय लाग्ने छैन। पुराना र नयाँ पुस्ताको अनुभव र प्रविधिको यो संयोजन नै नेपाली फोटो व्यवसायलाई उकास्ने मुख्य कडी हो।
